काठमाडौं – भारतको दिल्लीमा देखिएको विषाक्त हावाको प्रभाव नेपालमा पनि देखापरेकोछ । 

वातावरण विभागले  धुलोका साना कणबाट जोगाउने खालका मास्क लगाउने सर्वसाधारणलाई अनुरोध गरेको छ।दिल्लीको प्रदूषणले राजधानी काठमाडौभन्दा पनि तराईका जिल्लाहरूमा बढी असर पारेको देखिएको विभागले जानकारी दिएको छ । 

विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेका अनुशार प्रदूषण मापन गर्दा तराईको लुम्बिनी, सौराहा र नेपालगञ्जमा मापदण्डभन्दा बढी देखिएकोे हो।

राष्ट्रिय मापदण्डअनुसार पीएम २.५ भनिने सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताइन्छ। हावाको गुणस्तर मापन गर्ने रियल टाइम एअर क्वालिटी इन्डेक्सका अनुसार कणको मात्रा लुम्बिनीमा १९८ माइक्रोग्राम प्रति घनमिटर छ भने सौराहामा ११५ माइक्रोग्राम प्रति घनमिटर र नेपालगञ्जमा १९४ माइक्रोग्राम प्रति घनमिटर रहेको छ।

राजधानी काठमाडौमा भने तराईका जिल्लाभन्दा तुलनात्मक रुपमा कम अर्थात रत्नपार्कमा १३३ माइक्रोग्राम प्रति घनमिटर देखिएको छ।