काठमाडौं - विद्यार्थीलाई बलात्कार गरेको आरोपमा बानेश्वरबाट एक जना शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया सुन्धारास्थित होटलमा लगेर बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका हुन् ।

प्रहरीले पुतलीसडक बस्ने दोलखा भीमेश्वर नगरपालिका– ९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान पक्राउ गरेको हो । लामाले काठमाडौँ महानगरपालिका– ११ सुन्धारास्थित एक होटलमा ललाइफकाइ ती बालिकालाई लगेर उनले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

गोरखाको एक विद्यालयमा पढाउने लामाले सो बालिकालाई काठमाडौँ ल्याएर बलात्कार गरेको प्रहरीको भनाई छ ।

लामाले बालिकालाई होटलमा दुई दिनसम्म राखेका थिए। पटक–पटक जबरजस्ती करणी गरेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । लामालाई हिरासतमा राखेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको परिसरले जनाएको छ।