काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा) ले महाधिवेशनका लागि तयारी गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टीले केन्द्रीय स्तरमा राष्ट्रियसभा सदस्य निर्वाचन संयोजन गर्ने जिम्मेवारी राजेन्द्र महतोलाई सुम्पिएको छ ।

आइतबार पार्टी कार्यालय बबरमहलमा बसेको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले महतोलाई राष्ट्रियसभा सदस्य निवार्चनको केन्द्रीय संयोजकको जिम्मेवारी प्रदान गरेको हो । निर्वाचन संयोजन समितिमा अध्यक्ष मण्डलमा सबै सदस्य र राष्ट्रियसभाका दुबै उम्मेदवार रहने समेत निर्णय भएको छ ।

प्रदेश २ मा निर्वाचन संयोजनको जिम्मा प्रदेशसभा संसदीय दलका नेता जितेन्द्र सोनलसहित राष्ट्रियसभाका दुबै उम्मेदवारलाई संयोजकको जिम्मेवारी तोकेको छ ।

त्यस्तै आजको बैठकले महाधिवेशन तयारी समितिको बैठक पौस २५ गते गर्ने र २६ गते जिल्लाहरुमा खटाइएका केन्द्रीय पर्यवेक्षकहरूको बैठक जनकपुरधाममा गर्ने निर्णय गरेको छ । साथै पौस २७ गते २ बजे राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुसँगको बैठक बर्दिबासमा बस्ने निर्णय समेत भएको छ ।

आइतबार राजपा अध्यक्षमण्डलको बैठकले मृगेन्द्र सिंह यादव र शेखर सिंहलाई राष्ट्रियसभा निर्वाचनको उम्मेदवार  बनाउने निर्णय गरेको थियो ।राजपाले प्रदेश नम्बर २ मा दुई सिटका लागि सत्तारुढ दल नेकपासँग तालमेल गरेको छ ।