एजेन्सी - भारतमा जारी देशव्यापी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या २३ पुगेको छ । नागरिकतासम्बन्धी नयाँ कानुनी व्यवस्थाको विरोधमा केही दिनदेखि जारी आन्दोलनका क्रममा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा हिजो मात्र ६ जनाको मृत्यु भएको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् ।

मुस्लिम विरोधी रहेको भनिएको नयाँ कानुनको विरोधमा मारिने अधिकांश युवा रहेको बताइएको छ ।आन्दोलनका क्रममा भारतीय जनता पार्टीले शासन गरेका राज्यहरुमा बढी दमन भएकाले मारिनेहरुको संख्या बढेको बताइएको छ ।

भारतको सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेश राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको दलले सरकार चलाएको छ । प्रदर्शनकारीले दर्जनौ सरकारी सवारीसाधन र सार्वजनिक, निजी भवनहरुका तोडफोड गरेको बताइएको छ । अन्दोलनकारीले प्रहरी चौकीमासमेत आक्रमण गरेका छन् ।

सुरक्षाकर्मीले इन्टरनेट सेवा अझै बन्द गरेको छ भने प्रदर्शनका क्रममा सुरक्षाकर्मीको दमनका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरिएका छन् ।

करिब एक हजार प्रदशर्नकारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । सरकारले थप हिंसा फैलाउन सहयोग पुग्ने सामग्री प्रकाशन र प्रसारण गर्नसमेत सञ्चारमाध्यमहरुलाई रोक लगाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मुसलमानहरुलाई विभेद गरेर नागरिकता सम्बन्धी नयाँ कानुनी व्यवस्था गरेको आरोप लागेको छ ।