काठमाडौं - लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ ।

आयोगले आज शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

आयोगका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो पत्रको कार्तिक १८, दोस्रो पत्रको १९ र तेस्रो पत्रको परीक्षा २० गते हुनेछ । व्यवस्थापिका संसदतर्फ आन्तरिक प्रतिस्पर्धाको पहिलो पत्रको परीक्षा कार्तिक २१ र दोस्रो पत्रको परीक्षा कार्तिक २२ गतेका लागि तोकिएको छ ।

यसैगरी परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कार्तिक २३ गतेदेखि सुरु हुने छ ।नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा मंसिर ७ गते हुनेछ ।

तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गतेका लागि तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोगले निकालेको सूचनामा उल्लेख छ ।

स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता तथा कम्प्युटर सीप परीक्षण असोज २५, २६ र २७ गते हुने छ ।पूर्वप्रकाशित लिखित नतिजाको सूचनामा तोकिएअनुसारकै कागजात लिएर निर्धारित समयभन्दा एक घण्टा अगाडि नै परीक्षा केन्द्रमा आउन आयोगले आग्रह गरेको छ ।

आयोगका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा लिइनेछ । लोक सेवा आयोगले अन्तिम समयमा स्थगित गरेको सहसचिव सरहको सूचना प्रविधि विज्ञ पदको परीक्षाको नयाँ तालिका पनि आजै सार्वजनिक गरेको छ । यो परीक्षा पनि दशैं अगाडि नै हुनेछ ।