काठमाडौं - ग्रीन लाइफ हाइड्रोपावर र सानिमा क्यापिटलबीच सेयर शेयर रजिष्ट्रारसम्वन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा ग्रीन लाइफ हाइड्रोपावरको तर्फबाट अध्यक्ष याङचेन डोमा लामा र सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरे। २०६६ साल असोज ४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा ग्रीनलाइफ इनर्जी प्रा।लि।को रुपमा दर्ता भएको कम्पनी २०७४ असार ९ गतेदेखि पब्लिक कम्पनीमा परिणत भएको हो।

कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका (तत्कालीन खारे तथा मार्बु गाविस) मा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई आयोजना निर्माण गरिरहेको छ। ४० मेगावाट क्षमताको आयोजनाबाट २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

ग्रीन लाइफले जारी पूँजी १ अर्ब ८० करोडको १० प्रतिशत अर्थात अठार करोड रुपैयाँको १८ लाख कित्ता शेयर स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरेको थियो। स्थानीयबाट खरिद नभएका १६ लाख ९६ हजार ४ सय कित्ता शेयर गरी जम्मा ३४ लाख ९६ हजार ४०० साधारण शेयर (सामुहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणको लागि समेत गरी) सर्वसाधारणमा निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ। माघ महिनाको तेस्रो हप्तादेखि उक्त शेयर सर्वसाधारणको लागि विक्री खुल्ला गर्ने योजना रहेको छ।