काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल सोमबार प्रकाशित गरेको छ।

सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो।

परीक्षा नियन्त्रक रामराज खकुरेलले दिएको जानकारी अनुसार केहीबेर अगाडि परीक्षाफल प्रकाशित गरिएको हो। गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा कोरोनाभाइरसको कारण अन्तिम समयमा आएर स्थगित भएको थियो । 

कोरोनाभाइरसको महामारी लामो समयसम्म गएपछि सरकारले जेठ अन्तिम साता विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । 

लामो समयसम्म विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्‍न उचित नभएको निष्कर्षसहित सरकार यो निर्णयमा पुगेको थियो ।