काठमाडौं - मंगलबार बलिउड अभिनेत्री स्वर्गीय श्रीदेवीको ५६औँ जन्मदिन परेको थियो । यस अवसरमा सिंगापुरस्थित मैडम तुसाद म्युजियमले चाँडै नै श्रीदेवीको मैनको मूर्ति म्युजियममा स्थापना गर्ने घोषणा गरेको छ ।

अभिनेत्रीको यादमा मैनको मूर्ति स्थापना गर्न लागिएको पनि म्युजियमले जनाएको छ । म्युजियकका तर्फबाट ट्विटमार्फत यो घोषणा गरिएको हो । 

ट्विटमा लेखिएको छ, ‘हामीलाई यो जानकारी गराउँदा खुसी लागेको छ कि श्रीदेवीको यादमा उनको मैनको मूर्ति स्थापना गरिँदै छ । यसको अनावरण सेप्टेम्बरको पहिलो सातामा हुनेछ ।’ 

श्रीदेवीलाई दिइएको यो सम्मानले उनका पति बोनी कपुर निकै खुसी भएका छन् । ट्विटमा आफ्नो खुसी व्यक्त गर्दै उनले लेखेका छन्, ‘म भावुक बनेको छु । हामीलाई खुसी छ कि मैडम तुसादमा श्रीदेवीको लिगेसीलाई स्थान प्राप्त हुनेछ ।’ मैनको मूर्ति २० जनाको विशेषज्ञ टिमले तयार पारेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

त्यसका लागि आर्टिस्टहरूले श्रीदेवीको परिवार र साथीहरूसँग कुराकानी गरेर उनीबारे विशेष जानकारी लिएका थिए । उनको मेकअप, हाउभाउ, कपडा, गहना, क्राउनबारे जानकारी लिएका थिए ।