काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार २०७ औं भानुजयन्तीको अवसरमा राम र आयोध्याका विषयमा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनामा चोट पुर्‍याउने मनसाय नभएको स्पष्ट पारेको हो । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "प्रधानमन्त्री केपी शर्मा ओलीले २०७ औं भानुजयन्तीका अवसरमा दिएको अभिव्यक्तिलाई विभिन्‍न रुपमा व्याख्या गरिएकप्रति सरकारको ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित छैन र उक्त अभिव्यक्तिको मनसाय कसैको भावनामा चोट पुर्‍याउने नभएको जनाएको छ ।" 

श्रीराम र उनको जन्मस्थानसँग सम्बन्धित विभिन्‍न मिथकहरु रहेको छन् । प्रधानमन्त्री ओलीले सामान्यतया: प्रधानमन्त्री ओलीले यससम्बन्धी अध्ययन र अनुसन्धानको आवश्यकता औंल्याउनुभएको थियो । "उक्त अभिव्यक्तिको अर्थ अयोध्या र यसको सांस्कृतिक मूल्यलाई अपमान गर्नु होइन," विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार भारतका राजकुमार रामलाई नभई अयोध्याका रामलाई सीता दिएको र अयोध्या वीरगञ्‍जभन्दा अलि परको गाउँमा रहेको बताएका थिए ।

“हामी अहिले पनि ठानिरहेका छौं । हामीले भारतका राजकुमार रामलाई सीता दियौं । भारतका होइन, अयोध्याका रामलाई सीता दिएका हौं । अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन,” उनले भनेका थिए ।

ओलीले अयोध्या भारतमा रहेको भए त्यहाँका राजाका छोरा विवाहका लागि कसरी जनकपुर आइपुगे भन्ने प्रश्न समेत उठाएका थिए ।

“यहाँको जनकपुर उहाँको अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ। कल्ले के गर्‍या छ। त्यस बेलाका जमानामा न टेलिफोन, न मोबाइल ! कताबाट थाहा होस् ! थाहा हुन पनि सम्भव थिएन,” उनले भनेका थिए ।