इटहरी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्व प्रधामन्त्रीसमेत रहेका प्रचण्डले कैलालीको टिकापुर घटनाका झुट्टा मुद्दा खारेज हुने बताएका छन् ।

उनले सरकारमा यसबारे छलफल भइरहेको जानकारी पनि दिए । अध्यक्ष प्रचण्डले थारु समुदायलाई छुट्टै पहिचान दिलाएको बताए ।

सुनसरीको झुम्कामा आयोजना गरिएको जितिया महोत्सवलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले थारुलाई मधेसी र जनजाति कोटामा नराखी छुट्टै पहिचान दिलाउन संवैधानिक थारु आयोग बनाइएको बताए । यस अघिका सरकारले छुट्टै थारु आयोग बनाएका थिएनन्, थारु समुदायले भने छुट्टै पहिचानको माग गर्दै आएका थिए ।

महोत्सवमा बोल्ने थारु अगुवाहरुले संसद रेशम चौधरी जेलमा बस्नु परेकोमा विरोध गरेका थिए । यस्तो विरोधलाई साम्य पार्दै प्रचण्डले जनताबाट निर्वाचित संसदहरु ससम्मान जेलमुक्त हुने आश्वासन दिएका छन् ।

उनले मुलुक एकात्मक राजतन्त्रबाट संघिय लोकतान्त्रिक गणतन्त्रमा गएकोले यसलाई थारु समुदायले उपलब्धीको रुपमा लिनु पर्ने बताए । ‘हिजोका निरंकुश राजामहाराजाहरु पर्दापछाडी बसेर खेले खेल्न खोजेका छन् त्यसलाई छुट दिन सकिँदैन,’ उनले भने ।  समानुपातिक व्यवस्थाले थारुहरुको संसदमा बढी भन्दा बढी प्रतिनिधित्व भएको उनको भनाई थियो ।

उनले सामाजिक न्यायसहितको संविधानले सबैको हित गर्ने बताए । यस्तो संविधानकै कारण आज राष्ट्र मुलभूत रुपमा एकताबद्ध भएको बताए । संविधान दिवसमा कालोझण्डा देखाउनेहरुलाई जवाफ दिंदै प्रचण्डले यो सहमतिको दस्तावेज हो फेरि पनि आवश्यक परे संवैधानिक र शान्तिपूर्ण तरिकाले संसोधन गर्न सकिने बताए ।

आफूले नेतृत्व गरेको जनयुद्धमा थारु समुदायको अग्रणी भूमिका रहेको प्रचण्डले स्मरण गरे । उनले भने–थारु समुदाय राष्ट्र निर्माणको पक्षमा इतिहासदेखि नै अग्रणी स्थानमा छ । तराईमा थारु लगायत मधेसीहरुले मनाउदै आएको जितिया पर्वको शुभकामना दिंदै प्रचण्डले नेपाल भौगोलिक रुपमा सानो भएपनि जातीय र साँस्कृतिक रुपले ठुलो भएको बताए । उनले यसमा हामी सबैले गर्व गर्नु पर्ने बताए ।