काठमाडौं - नेपालमा कोरोना परीक्षण सुरु भएको ७० दिन भएको छ । तर, शुक्रबारसम्म जम्मा १२ सय ७७ जनामा मात्रै परीक्षण गरिएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न बढीभन्दा बढी नमुना परीक्षण गर्नुपर्नेमा यो निकै कम भएको भन्दै विज्ञहरूले चिन्ता जनाएका छन् ।

चीनबाट आएका पहिलो संक्रमितको नमुना परीक्षण हङकङमा गरिएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको जानकारी सरकारले १० माघमा दिएको थियो । त्यसको दुई दिनपछि अर्थात् १२ माघदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमै परीक्षण सुरु गरिएको थियो ।

हाल केन्द्रसहित देशका सात ठाउँमा कोरोना परीक्षण सुरु भएको छ । तर, दिनमा सयको हाराहारीमा मात्रै परीक्षण भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म धरानमा ३९, हेटौँडामा पाँच, पोखरामा १९, जनकपुरमा पाँच, सुर्खेतमा सात र धनगढीमा पाँचजनामा कोरोना परीक्षण भएको छ । बुटवलमा भने ल्याब सञ्चालनको तयारी भइरहेको छ ।

‘कोरोना परीक्षणको निदान र उपचार भनेकै संक्रमितको द्रुत खोजी हो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘काठमाडौंसहित देशका सात ठाउँबाट परीक्षण भइरहेको छ । जतिसक्दो धेरै परीक्षण गरेर संक्रमित पत्ता लगाउने विश्वव्यापी मान्यताअनुसार दायरा बढाइएको छ ।’

हङकङमा परीक्षण गरिएकासहित हालसम्म नेपालमा ६ जनामा संक्रमण पुष्टि भएको छ । पहिलो संक्रमित पूर्ण रूपमा निको भएर घर गइसकेका छन् । पाँचजना उपचाररत छन् । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा दुई, धौलागिरि अस्पताल बाग्लुङमा दुई र सेती प्रादेशिक अस्पताल धनगढीमा एक संक्रमितको उपचार भइरहेको छ । तर, सबैको स्वास्थ्य सामान्य रहेको पनि उनले बताए ।

त्यस्तै, उपत्यकामा १५ र बाहिर एक सय पाँच गरी देशभर एक सय २० जना आइसोलेसनमा छन् । तीमध्ये एक सय सातजना कोरोनाको रेडजोनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरू सबैले कोरोनासम्बन्धी निःशुल्क कल सेन्टरमा फोन गरेर आइसोलेसनमा बसेका हुन् । उनीहरूलाई मन्त्रालयले सुरक्षित रूपमा बस्न र भेटघाट नगर्न भनेको छ । रेडजोनमा रहेकाहरूलाई कुनै समस्या देखिए तत्काल अस्पताल आउन मन्त्रालयले भनेको छ । 

नयाँ पत्रिका दैनिकबाट