काठमाडौं - अपहरणपछि हत्या गरेको अभियोग लागेका व्यक्तिलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतका राजेशकुमार गुप्ता छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २२ खिचापोखरी बस्दै आएका ११ वर्षीय आफ्नै भान्जा रोहित गुप्तालाई राजेशकुमारले अपहरण गरी २०६४ सालमा हत्या गरेका थिए । रोहितको स्थायी घर भारतको बिहार प्रान्तस्थित मुझफरपुर जिल्ला हो।

केहीसमय प्रहरीको सम्पर्कमा रहेपनि त्यसपछि फरार रहेका राजेशकुमारलाई शनिबार महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले सर्लाहीको मलंगवा ८ गोरखकालीबाट पक्राउ गरेको हो ।

त्यसबेला रोहितलाई अपहरण गरी उनका बाबु बासुदेव गुप्तासँग राजेशकुमार र उनका साथी धादिङका विष्णु सुनारले फोन गर्दै दुई लाख ५० हजार फिरौती रकम मागेका थिए । फिरौती रकम नपाएपछि उनीहरूले खिचापोखरीस्थित भाडामा लिइएको कोठामा रोहितको हत्या गरी कमलादीस्थित सडकपेटीमा बोराभित्र राखेर फ्याँकिदिएका थिए ।