काठमाडौं - स्पेनिस फुटबल क्लब बार्सिलोनाले अनेस्टो भाल्भर्डेलाई बर्खास्त गर्दै कुके सेटिएनलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।

५५ वर्षका भाल्भर्डेले बार्सिलोनालाई दुई पटक स्पेनिस लिगको उपाधि जिताएका थिए ।तर गत सिजनको च्याम्पियन्स लिग फुटबलको सेमिफाईनल खेलमा लिभपुरसँग अप्रत्यासित रुपमा पराजित भएपछि भाल्भर्डे दबाबमा परेका थिए ।

उनकै नेतृत्वमा बार्सिलोनाले कोपा डेल रे को फाइनलमा भ्यालेन्सियासँग हार भोगेको थियो भने यसैसाता स्पेनिस सुपरकपको सेमिफाइनलमा एथ्लेटिको मड्रिडसँग पराजित हुनुपरेको थियो ।

पछिल्लो सयम बार्सिलोनाले सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि भाल्भर्डेलाई बर्खास्त गरिएको हो । नयाँ जिम्मेवारी पाएका कुके सेटिएन रियाल बेटिसका पूर्व प्रशिक्षक हुन् । यसअघि बार्साले पूर्व खेलाडी जाभीलाई प्रशिक्षक बनाउन चाहेको थियो ।

तर जाभीले तत्काल कतारको अल साद फुटबल क्लब छाडेर बार्साको जिम्मेवानरी समाल्न अस्विकार गरेपछि सेटिएनलाई विकल्प बनाइएको हो ।