एजेन्सी - बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले संसद निलम्बन गरेका छन् । उनले आउँदो अक्टोबर १४ तारिखसम्मका लागि बुधबार संसद् निलम्बनको घोषणा गरेका हुन् ।

निलम्वनको घोषणालाई अनुमोदन गर्न निलम्बनसम्बन्धी प्रस्ताव उनले महारानी एलिजावेथसमक्ष पेस गरेका छन् । बेलायतका अधिकारीहरुका अनुसार प्रधानमन्त्रीको हरेक निर्णयलाई महारानीले अनुमोदन गर्ने भएकाले प्रधानमन्त्रीको घोषणा नै अन्तिम निर्णय मानिन्छ ।

निलम्बनले बेलायती राजनीतिमा नयाँ मोड सिर्जना हुने बताइएको छ । आगामी अक्टोबर ३१ तारिखबिना कुनै सम्झौता बेलायत इयुबाट बाहिरिने प्रक्रिया रोक्नका लागि आवश्यक कानून पारित गर्न सांसदहरूसँग समय अभाव हुने बताइएको हो ।

‘यो निलम्वन हामीले अक्टोबर १४ सम्मका लागि कायम गर्न लागेका छौँ’, बेलायती प्रधानमन्त्री जोहनसनले भनेका छन् । ब्रेजिक्टका बारेमा छलफल गर्न दुवै पक्षका सांसदहरूलाई पर्याप्त समय पुग्ने उनले जिकिर गरे ।

निलम्वनका कारण प्रधानमन्त्री जोनसनको सरकारको नीति तथा कार्यक्रम घोषणा गर्न संसद्मा हुने महारानीको सम्बोधनलाई भने असर पर्ने छैन ।