काठमाडौं - बैंकका कर्मचारीलाई प्रहरीले अवरोध नगर्ने भएको छ । भोलि (शुक्रबार) बाट बैंकका कमर्चारीलाई परिचयपत्रका आधारमा छाडिने कार्यालय जान दिइने भएकाे छ। भाेलिबाट प्राइभेट सवारीसाधनमा आउने सबैलाई चेक हुने तर बैंकको परिचयपत्र देखाएपछि छाड्ने निर्णय भएको हाे । 

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले हिजो (बुधबार) राति १२ बजेदेखि काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो। तर बैंकका कर्मचारीलाई भने बैंकको परिचयपत्रका आधारमा आवजावत गर्ने दिन बताएको थियो ।

जिल्ला प्रशासनको निर्णय र राष्ट्र बैंकको निर्देशनअनुसार बैंकर्स संघले प्रत्येक वाणिज्य बैंकले बढीमा ८ वटा शाखा खोल्ने निर्णय गरेको थियो । तर बिहीबार बिहान कार्यालय हिँडेका बैंकका कर्मचारी र प्रमुख कार्यकारी अधिकृतलाई नै प्रहरीले रोकेपछि आक्रोशित बनेका बैंकहरूले काठमाडौं उपत्यकाका शाखा बन्द गरेका थिए ।

प्रहरी प्रशासनले बैंकका कर्मचारीलाई नरोक्ने बताए पनि बैंकरले भने यसको कुनै जानकारी नआएको बताएका छन् ।