काठमाडौं,एजेन्सी - भारतीय हास्यकलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मुम्बई अदालतले जमानतमा छाड्न अनुमति दिएको छ।

उनीहरू दुबै जनालाई लागू औषध नियन्त्रण ब्युरोले शनिबार पक्राउ गरेको थियो। एनसिबीले उनीहरूको घर तथा कार्यालयबाट ८६.५ ग्राम गाँजा बरामद गरेको थियो।

उनीहरूले जमानतको लागि अदालतमा याचिका दायर गरेका थिए। पक्राउ परेका भारती र उनका पति दुबैले आफूहरूले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेका छन्। भारतीय कानुनअनुसार उनीहरूबाट बरामद भएको गाँजाको मात्रा थोरै हो।

भारतमा एक हजार ग्राम गाँजालाई थोरै मानिन्छ। यसका लागि ६ महिना जेल सजाय वा १० हजार भारू जरिमाना वा दुबै सजाय हुने व्यवस्था छ।

गत जुनमा बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्युपछि एनसिबीले बलिउडमा लागुऔषध प्रयोगका बारेमा जाँच गरिरहेको छ।लागू औषध कारोबारीबाट प्राप्त जानकारीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।