एजेन्सी - कोरोना भाइरसले अर्थतन्त्र शिथिल बनाउन थालेपछि अमेरिकाले ब्याजदर शून्यमा झार्ने घोषणा गरेको छ । संक्रमण विरुद्ध लडने भन्दै अमेरिकी केन्द्रीय बैंक ‘फेडेरल रिजर्भ’ले आपतकालीन रुपमा ब्याजदर घटाउँदै करिब शून्यमा झारेको हो ।

बैंकका प्रमुख जेरोम पावेलले महामारीले अमेरिकाको अर्थतन्त्रमा पर्ने नकारात्मक असर कम गर्न योजना ल्याइएको बताए । ब्याजदर शून्यदेखि ० दशमलब २५ को बीचमा राख्ने निर्णय भएको पनि उनले जानकारी दिए ।

बैंकले अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न ७ खर्ब डलरको आर्थिक सहायता कोष स्थापना गरेको पनि जनाएको छ । यो कदम बेलायत, जापान, यूरोक्षेत्र, क्यानडा र स्वीट्जरल्याण्डसँग गरिएको सहकार्यको एक भाग भएको जनाइएको छ ।

यसलाई सन् २००८ वित्तीय संकटयता गरिएको पहिलो आपतकालीन ब्याजदर कटौतीको निर्णय मानिएको छ । बैंकको निर्णयप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुशी व्यक्त गरेका छन् ।