काठमाडौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ।

आइतवार अपराह्न अध्यक्ष प्रचण्ड पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न बालुवाटार पुगेको स्रोतले बताएको छ । शनिबार दुई अध्यक्षबीचमा मंसिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको थियो ।

प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा अर्ली महाधिवेशन मंसिरमा गर्ने प्रस्तावमा प्रचण्ड पनि सकारात्मक देखिएका थिए । जसमा वरिष्ठ नेता माधवकुमार नेपालको पक्षले विरोध गरेका थिए । प्रचण्डले आइतवार बिहान वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाललगायत पार्टीका प्रभावशाली नेताहरूसँग छलफल गरेका थिए ।

प्रचण्ड र नेपाल समूहले सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै ओलीको राजीनामा मागेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री ओलीले भने तत्काल दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याउँदै आएका छन् । दुवै पक्षको अडानकै कारण लामो समयदेखि नेकपा विवादको निष्कर्ष निस्कन सकेको छैन ।

गत असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक-पटक स्थगन हुँदै आएको छ। आज डाकिएको स्थायी कमिटी बैठक पनि ६ गतेसम्मका लागि स्थगन गरिएको छ।