काठमाडौं - इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन् । एक अमेरिकी सैन्य जनरल इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् पेन्टागनका प्रमुख मार्क एस्परले अहिले फौज फिर्ता गर्ने बेला नभएको स्पष्ट पारेका हुन् ।

अमेरिकी सैन्य जनरलले लेखेको पत्रमा अमेरिकाले आगामी दिनहरुमा फौजलाई स्थानान्तरण गर्ने उल्लेख गरिएको बताइएको छ । इराकी संसदले इराकबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने भनी सङ्कल्प प्रस्ताव पारित गरेपछि उक्त पत्र लेखिएको थियो । अमेरिकी रक्षामन्त्रीले उक्त पत्र अहिले अमेरिकाले राखिरहेको अडानसँग नमिल्ने बताउएका छन् ।

इराकमा इरानी सैन्य जनरल कासिम सुलेमानीको हत्यापश्चात् अमेरिकी सेनामाथि बढेको खतराबीच यस्तो अन्यौल सिर्जना भएको छ ।

इराकी प्रधानमन्त्रीले आफू पनि अमेरिकी सेना फिर्ता हुनुपर्ने पक्षमा रहेको बताएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले इराकबाट आफ्नो सेना फिर्ता गर्नुपरेमा इराकमाथि कडा प्रतिबन्धहरू लगाउने बताउएका छन् ।