काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने प्रयोजनार्थ सम्झौता भएको छ । 

ग्लोबल आइएमई बैंक लिमिटेडमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष केशव लाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत अर्गानिक नेपाल सहकारीको सिफारिसमा सहकारीका शेयर सदस्य, उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई कर्जा उपलब्ध गराउने छ । यसै सम्झौता अनुसार कर्जा लिने साना किसानहरुलाई सहकारीले आवश्यक तालिमको पनि व्यवस्था गर्नेछ ।

बैंकले बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।