काठमाडौं - अमेजन प्राइमले बनाएको बहुचर्चित वेब सिरीज मिर्जापुरविरुद्ध सोमवार अरविन्द चतुर्वेदी नामक व्यक्तिले मुद्दा दायर गरेका छन् । 

सिरीजले धार्मिक, सामाजिक तथा क्षेत्रीय भावना आहत गरेको र सामाजिक सौहार्द्रमा क्षति पुर्‍याएको आरोप छ । सिरीजमा दुर्व्यवहारपूर्ण तथा अवैध सम्बन्ध देखाएर धार्मिक विश्वास र भावनालाई चोट पुर्‍याएको चतुर्वेदीको आरोप छ । 

सिरीज बनाउनेहरूले उत्तर प्रदेशको छवि खराब गरेको आरोप पनि छ । उजुरीमा निर्माताहरू रितेश सिधवानी, फरहान अख्तर र भौमिक गोन्डालियाको नाम छ । उनीहरूलाई भारतीय दण्ड संहिताका दफा २९५ क, ५०४, ५०५ र सूचना प्रविधि ऐनका दफाहरू अन्तर्गत आरोप लगाइएको छ ।

मिर्जापुरको दोस्रो सीजन सार्वजनिक भएलगत्तै मिर्जापुर क्षेत्रकी सांसद अनुप्रिया पटेलले त्यसविरुद्ध कारवाही चलाउन माग गरेकी थिइन् । 

अमेजन प्राइमकै अर्को वेब सिरीज ताण्डवविरुद्ध उजुरी दर्ता गरिएपछि निर्माता निर्देशकहरूले माफी मागेका छन् र आपत्तिजनक दृश्यहरू हटाउन सहमति जनाएका छन् ।