काठमाडौं - भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ११ स्थान माथि उक्लिएको छ । यद्यपि, भ्रष्टाचार निवारणसम्बन्धी सूचकांकमा नेपालको स्थान अझै सन्तोषजनक देखिएको छैन ।

अघिल्लो वर्ष २०१८ मा ३१ अंकसहित १२४औँ स्थानमा रहेको नेपाल २०१९ मा ३४ अंक ल्याउँदै ११३औँ स्थानमा उक्लिएको हो । ‘ट्रान्सपरेन्सी इन्टरनेसनल’ले जम्मा १८० देशको रिपोर्ट बिहीबार सार्वजनिक गरेको हो ।

बिहीबार सार्वजनिक गरिएको रिपोर्टअनुसार डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने देशमा रहेको छ । १०० पूर्णांकमा डेनमार्कले ८७ अंक प्राप्त गरेको छ । सो रिपोर्टमा सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने सूचीमा रहेको छ । यसले १०० मा जम्मा ९ अंक मात्र प्राप्त गरेको छ ।

४३ नम्बरलाई भ्रष्टाचार निवारणको अवस्थामा सामान्यतः सन्तोषजनक मानिन्छ भने ५० भन्दा बढी अंक आउनुलाई भ्रष्टाचार निवारणमा प्रगति भएको मानिन्छ । नेपालले गत सालभन्दा बढी नम्बर ल्याए पनि यसलाई भ्रष्टाचार घटेको मानिन्न ।

रिपोर्टमा उल्लेख भएअनुसार दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देश भुटान हो । भुटान ६८ अंक प्राप्त गरी २५औँ स्थानमा छ । त्यसैगरी भारत र चीन समान ४१ अंक प्राप्त गरी ८०औँ स्थानमा, श्रीलंका ३८ अंक प्राप्त गरी ९३औँ स्थानमा, माल्दिभ्स २९ अंक प्राप्त गरी १३०औँ स्थानमा र अफगानिस्तान १६ अंक प्राप्त गरी १७३ औँ स्थानमा रहेका छन् ।