काठमाडौं - सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहेकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त भएकी छिन् ।

बेलायतको ‘क्विन्स युनिभर्सिटी बेलफास्ट’ले बिहीबार क्लिन्टनलाई नयाँ चान्सलरमा नियुक्त गरिएको घोषणा गरेको हो । सो विश्वविद्यालयले सन् २०१८ को अक्टोबरमा क्लिन्टनलाई मानार्थ विद्यावारिधिको उपाधि पनि दिएको थियो । क्लिन्टन सो विश्वविद्यालयकी ११औँ चान्सलर बनेकी हुन् भने पहिलो महिला चान्सलर बनेको विश्वविद्यालयका अधिकारीहरूले जनाएका छन् ।

संवैधानिक पद मानिने चान्सलरको रूपमा क्लिन्टनले मुख्य तीन भूमिका खेल्नुपर्ने विश्वविद्यालयले जनाएको छ । स्नातकोत्तर सभाको अध्यक्षता गर्ने, विश्वविद्यालयको दूतका रूप रहने र सल्लाहकारको भूमिका खेल्ने गरी मुख्य तीन भूमिका हुने अधिकारीहरूको भनाइ छ । चान्सलरले विश्वविद्यालयको उच्च तहको व्यवस्थापनलाई मार्गदर्शन तथा परामर्श दिने प्रचलन रहेको छ । अहिले नियुक्त भएको चान्सलरको जिम्मेवारी उनको यही जनवरीदेखि सुरु भएर आगामी पाँच वर्षसम्म रहने विश्वविद्यालयले जनाएको छ ।

क्लिन्टन सन् २०१६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा चुनावी प्रतिस्पर्धामा रहेकी थिइन् । त्यसअघि उनी अमेरिकी विदेशमन्त्री पनि बनेकी थिइन् ।