काठमाडौं - शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो कालोबजारीको आरोपमा नक्सालबाट पक्राउ गरेको हो ।

उनले पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेको आरोप प्रहरीले लगाएको छ । साथै उनको साथबाट ६७ थान थर्मल गन बरामद भएको छ 

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको छ । उनको साथबाट २०९८ सीसी वान नम्बरको गाडी प्रहरीले बरामद गरेको छ ।

शंकर ग्रुपले नेपाल एयरलाइन्सको विमान चार्टर गरेर शनिबार मात्र चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो । तीमध्ये ज्वरो नाप्ने थर्मल गन मालिक सुलभ अग्रवालले दोब्बर बढी रकममा विक्री गरिरहेको सूचना थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।'