काठमाडौं - नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले सपना बाँडने तर काम नगर्ने प्रवृतिलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

नेता केसीले सरकारले भ्रष्टाचारलाई पनि बढावा दिएको बताए । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आग्रह पूर्वाग्रहलाई प्रोत्साहन दिएकाले ३३ केजी सुन काण्ड, वाइडबडीमा अनियमितता, एनसेल काण्ड, नेपाल टेलिकमको फोरजीमा भएको अनियमितता तथा वालुवाटार जग्गा काण्डका दोषीलाई कारबाही गर्न नसकेको बताए ।

उनले सरकार आफु कमजोर भई काम गर्न नसकेको दोष कर्मचारी प्रशासनलाई लगाएको आरोप समेत लगाए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालले भारतसँग सीमा विवादको विषयलाई स्पस्टसँग राख्न नसकेको बताए । उनले आवश्यक परे नेपाल सीमा विवादको मुद्दालाई लिएर अन्तर्राष्ट्रिय अदालतमा पनि जान पछि पर्न नहुने बताए ।

सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार राष्ट्रियता, सुशासन र विकास र समृद्धिको यात्रामा सरकार अघि बढेको बताए । उनले जुन स्तरमा काम हुनुपर्ने थियो त्यो स्तरमा नभएपनि प्रतिपक्षी दलले लगाएको आरोपमा सत्यता नभएको बताए । नेता रायमाझीले सीमा विवादको लागि सरकारले कुटनीतिक पहलकदमी अगाडी बढाएको बताए ।

नेताहरुले सीमा विवादको समाधानका लागि सबै दलहरुले सरकारलाई साथ दिएकाले तत्काल पहल गरी आफुनो भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिएका छन् ।