काठमाडौं - त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरू आज बुधवारदेखि खुल्ने भएका छन् ।

नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको छ ।

सरकारले कोरोना भाइरस (कोभिड –१९) को संक्रमणका कारण चैत ११ गतेदेखि लगाएको बन्दाबन्दी खुला गर्ने निर्णय लिएलगत्तै विश्वविद्यालय आफनो नियमित कार्यक्रमलाई सञ्चालन राख्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ ।

भदौंबाट ७ गतेबाट परीक्षा

विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौं ७ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको त्रिविका रजिस्ट्रार प्रा. पेशल दाहालले जानकारी दिए । स्थगित परीक्षा दशैंसम्म सक्ने र दशैंपछि अन्य नियमित परीक्षा गर्ने तयारी त्रिविको छ ।

विश्वविद्यालयले क्याम्पस सञ्चालन गर्ने निर्णय गरेसँगै बिदामा बसेका अध्यापकहरूलाई पनि बोलाउने निर्णय गरेको छ । विश्वविद्यालयका अध्यापकहरूलाई दिइएको बिदा समेत सकिएको र अब क्याम्पसमा हाजिर हुनुपर्ने भएको छ ।

क्याम्पसमा नियमित पठनपाठन र परीक्षा बाहेक अन्य गतिविधि नियमित गरिने भएकोले विश्वविद्यालयका अध्यापकहरूलाई पनि बोलाइएको जनाइएको छ ।