काठमाडौं - सरकारले आगामी आर्थिक वर्षमा तीन सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ। बिहीबार अर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्। यसका लागि सरकारले ५० करोड बजेट विनियोजन गरेको छ। 

‘बाँजो जमिन धेरै भएका स्थानीय तहबाट भूमि बैंकको स्थापना गरिने छ’, अर्थमन्त्री खतिवडाले भने, ‘यसका लागि ५० करोड रकम विनियोजन गरिएको छ।’ 

सँगै सरकारले महिलाको नाममा जग्गाको स्वामित्व हस्तान्तरण गर्दा थप सहुलियत दिने घोषणा गरेको छ। त्यसैगरी एक वर्षमा सुकुम्बारीको व्यवस्थापन र व्यवस्थित बसोबासका लागि एक सय स्थानीय तहमा कार्यक्रम चलाइने सरकारले घोषणा गरेको छ।  

त्यस्तै सरकारले सबै नेपालीलाई श्रम र रोजगारीमा लगाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै देशभित्र थप रोजगारी सृजना गर्ने बताएका हुन् । उनले पालिकाबाट हुने विकास निर्माणका काममा विपन्न नागरिकलाई सहभागी गराउने बताए ।

यस्तै विदेशबाट फर्किएकालाई स्थानीयस्तरमै विकास निर्माणको काममा लगाउने बताए । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप दुई लाखजनालाई रोजगारी दिने पनि उनले बताए ।