काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको संवैधानिक इजलासबाट गरिएको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

'​नेकपा शक्तिपृथकीकरण, लोकतन्त्रका आधारभूत मूल्य मान्यता र विधिको शासनमा विश्वास गर्ने पार्टी हो । हिजो संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय गरेका छौं,' प्रवक्ता ज्ञवालीले सञ्चारकर्मीमाझ भने ।

उनले थपे, 'अहिले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने, सम्मान गर्ने हिसाबले अगाडि बढ्छौं । छिट्टै पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक पनि बोलाउँछौं ।'