काठमाडौं - कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार उपत्यकामा पनि दुईजनाको ज्यान गएको छ ।

शुक्रबार ज्यान गुमाउनेमा तीन महिला र तीन पुरुष रहेका छन् । योसँगै कोरोनाबाट नेपालमा मृत्यू हुनेको संख्या ४५९ पुगेको छ ।

मृत्यु हुनेमा काठमाडौंकी ७५ वर्षीया महिला रहेकी छन् भने कपिलवस्तुकी ७० वर्षीया महिला र मोरङको ६० वर्षीया महिला रहेकी छन् ।त्यसैगरी मोरङकै ५५ वर्षीय, सप्तरीका ७० वर्षीय र ललितपुरका ५१ वर्षीय पुरुषको पनि संक्रमणका कारण ज्यान गएको छ ।

नेपालमा शुक्रबार १३१३ जना कोरोना संक्रमित थपिँदा १४५५ जना निको भएर घर फर्किएका छन् ।शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । अहिले सक्रिय संक्रमित १८ हजार २८९ जना रहेका छन् भने ५१ हजार ८६६ जना निको भइसकेका छन् ।

नेपालमा पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । पछिल्लो समय मृतकको संख्या निरन्तर बढिरहेको छ ।