एजेन्सी - चीन र म्यानमारले दर्जनौं सम्झौतामा हस्ताक्षर गरेका छन् । म्यानम्यारमा चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गतका पूर्वाधार परियोजनालाई तीव्रता दिने गरी ३३ वटा सम्झौता गरिएको हो ।

म्यानमारको दुई दिने भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सि जिङपिङ र म्यानम्यारकी नेतृ आङ साङ सुकीबीच पूर्वाधार विकासलाई तीव्रता दिने गरी ३३ वटा सम्झौतामा हस्ताक्षर भएको रोइटर्सले जनाएको छ ।

दुबै नेताले चीन-म्यानमार आर्थिक कोरिडरलाई पूर्णता दिन सहमत भएको समाचारमा बताइएको छ । चीन-म्यानमार आर्थिक कोरिडर अर्बौं डलर बरारबको विशाल पूर्वाधार योजना हो । यसअन्तर्गत दुबै मुलुकको सीमामा विशेष आर्थिक क्षेत्र निर्माण गर्नका लागि द्वन्द्वग्रस्त राखाइन प्रान्तमा सामुन्द्रिक बन्दरगाह बनाइने, म्यानमारको राजधानी याङगुनमा नयाँ शहरी योजना बनाउने जस्ता योजना छन् ।

तर चीनको सहयोगमा निर्माणाधीन ३.६ बिलियन अमेरिकी डलरको मेडा म्याममा देखिएको विवादलाई सम्बोधन गरिएको छैन । सन् २०११ देखि उक्त परियोजना रोकिएको छ ।

सि १९ वर्षपछि म्यानम्यारको भ्रमण गर्ने पहिलो राष्ट्रपति समेत बनेका छन् । शुक्रबार स्वागत समारोहमा बोल्दै सिले दुबै मुलुकबीचको सम्बन्धमा नयाँ युग सुरु भएको बताएका थिए ।

चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्दै नेतृ सुकीले ‘अन्तर्राष्ट्रिय मामिला र विश्व अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै’ चीन सरकारको प्रशंसा गरेकी थिइन् ।

चीन र म्यानम्यारबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । तर सन् २०१७ देखि दुबै मुलुक आपसमा नजिकिएको देखिन्छ । राखाइन प्रान्तमा रोहिङ्गा मुस्लिममाथि भएको दमनलाई पश्चिमी मुलुकले आलोचना गरेपछि चीनसँग म्यानम्यारले सम्बन्ध सुधार गर्न खोजिरहेको छ ।

म्यानमारको सेनाले राखाइनमा गरेको फौजी कारबाहीपछि झण्डै ८ लाख रोहिङ्गाले म्यानम्यार छाडेका छन् । संयुक्त राष्ट्रसंघसहित पश्चिमी मुलुकले सेनाको उक्त कारबाहीलाई ‘नरसंहार उन्मुख’ भन्दै आलोचना गरेका थिए ।

तर चीनले भने अन्तर्राष्ट्रिय मञ्चमा म्यानमारको बचाउ गर्दै आएको छ । युद्ध अपराधमा संलग्न नेता तथा सैन्य अधिकारीहरूलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतसामु उपस्थित गराइनु पर्ने पश्चिमी मुलुकको आवाजविरुद्ध चीन उभिदै आएको छ ।

चीनले बेल्ट एण्ड रोड इनिसियटिभअन्तर्गत पूर्वाधार विकास परियोजना निर्माण गरी पश्चिमी राष्ट्रको उपेक्षामा परिरहेको म्यानम्यारमाथि आफ्नो प्रभाव जमाउन खोजेको रोइटर्सले जनाएको छ ।

बेइजिङबाट आउने लगानीप्रति म्यानमार निकै सजग रहेको र यही वर्षको अन्त्यमा हुन लागेको चुनावलाई लिएर समेत सावधानी अपनाइरहेको विश्लेषकहरूले बताएका छन्  ।