तुलसीपुर - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको सुक्रबार स्थलगत अनुगमन तथा अवलोकन गरेका छन् ।

सो क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विमानस्थलका बारेमा जानकारी गराउँदै ७ सय ५० मिटर लम्बाइ रहेको उक्त विमानस्थललाई एक हजार २ सय मिटर बनाउन पर्याप्त जमिन भएकाले यसको स्तरवृद्धि गर्न कुनै कठिनाइ नभएको बताए ।

उनले उक्त विमानस्थल नियमित सञ्चालनमा आएपछि यात्रुको चाप बढेको भन्दै विमानस्थलको स्तरवृद्धि गरेर ठूलो विमान ल्याएमा सहज हुने बताए । टरिगाउँ विमानस्थल वातावरणीय हिसाबले पनि उत्तम रहेको भन्दै उनले अहिले विमानस्थलमा इन्धन डिपो र ब्राउजर आवश्यक रहेको जानकारी दिए ।

प्रमुख पाण्डेले दाङमात्रै नभई, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, प्यूठान, जाजरकोट, सुर्खेतलगायतका करिब १० लाख मानिसलाई यो विमानस्थलबाट सेवा प्रवाह गर्न सकिने बताए ।

सो अवसरमा मन्त्री भट्टराईले यस वर्ष टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि बजेट विनियोजन भएको बताए । आगामी वर्ष पनि विमानस्थल विस्तारका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।