काठमाडौं - कोरोनाभाइरस मानिसहरूमा कसरी फैलियो भन्ने विषयमा संसारभरिका वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् । 

कोरोना फैलिएपछि चमेरोबाट मानिसमा भाइरस आएको भनियो अनि पछि चाहिँ सालकमाथि शंका गरियो । बिहीवार नेचर जर्नलमा प्रकाशित एक अध्ययनमा कोभिड–१९ सँग मिल्दोजुल्दो भाइरस सालकमा भेटिएको पुष्टि गरिएको छ । 

अध्ययनले अहिलेको महाव्याधिका लागि सालक नै जिम्मेवार रहेको निष्कर्ष चाहिँ निकालेको छैन । तर त्यसमा दिएको संकेतअनुसार अहिलेको कोरोनाभाइरस सालकबाट सरेको हुन सक्ने सम्भावना छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, चमेरो कोरोनाभाइरस सार्स–साओभीको वाहक हुने बढी सम्भावना छ । तर मानिसमा आइपुग्नुअघि यो अन्य कुनै प्रजातिमा पुगेको हुनुपर्छ । अर्थात् चमेरोबाट भाइरस कुनै अर्को जनावरमा पुगेर त्यस जनावरबाट मानिसमा पुगेको हुनुपर्छ । 

सालक विलुप्त हुन लागेको स्तनधारी जनावर हो । यो एसिया र अफ्रिकामा पाइन्छ । सालकको व्यापक तस्करी हुने गरेको छ । यसका आठ प्रजातिको व्यावसायिक खरिदबिक्री पूर्ण रूपमा प्रतिबन्धित छ तैपनि यसको तस्करी संसारभरि हुने गरेको छ । 

चीन, भियतनाम र एसियाका केही देशमा यसको मासुको माग छ । कोरोनाको वाहकका रूपमा रहेको सालक खाँदा भाइरस सर्ने सम्भावना व्यापक हुन्छ । त्यसो त सालकलाई उसको खपटाका लागि पनि मार्ने गरिएको छ तर खपटाको सम्पर्कमा आउनु मासु खानुको तुलनामा कम खतरनाक छ । 

चीनमा सालक खानु गैरकानूनी छ तैपनि त्यहाँका रेस्टुराँमा सालकको मासु पाइन्छ । अझ जनवरी २६ सम्म त जिउँलो सालक पनि बजारमा बेचिन्थ्यो । कोरोना फैलिएपछि भने सरकारले जिउँदो जनावर बिक्री गर्ने बजार बन्द गर्ने आदेश दियो । 

नयाँ अनुसन्धानमा पाइएअनुसार, सालकमा पाइएको कोरोनाभाइरसको जिन संरचना अहिले फैलिरहेको भाइरसको जिन संरचनासँग ८८.५ प्रतिशतदेखि ९२.४ प्रतिशतसम्म मिल्छ । 

आफ्नो निष्कर्ष सावधानीपूर्वक प्रस्तुत गर्दै अनुसन्धाताहरूले जिनोममा रहेको समानताले नै सालकले सार्स–सीओभी–२ लाई चमेरोमार्फत मानिसमा पुर्‍याएको भन्ने निष्कर्ष निकाल्न नमिल्ने बताएका छन् । पेपरमा उल्लेख गरिएअनुसार, सालकलाई भविष्यमा देखिने नयाँ कोरोनाभाइरसको सम्भावित वाहकको सूचीमा राख्नुपर्छ ।