काठमाडौं -  महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि ललितपुर प्रहरीले छानबिन सुरु गरेको छ ।

भैंसेपाटीस्थित नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर घेर्ने टोलीमा सहभागी हेमा श्रेष्ठलाई लाठी हानेपछि इन्स्पेक्टर पौडेलमाथि छानविन सुरु भएको हो ।

खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा इन्सपेक्टर पौडेलले हिजो आफूलाई अभियान्ता बताउने श्रेष्ठमाथि लाठीचार्ज गरेका हुन् ।

इन्स्पेक्टर पौडेलले बच्चा बोकेकी श्रेष्ठमाथि लाठीचार्ज गरेको भिडियो सामाजिक सञ्चालमा भाइरल भएको थियो ।

प्रहरी प्रधान कार्यालयको निर्देशन पछि महानगरीय प्रहरी परिसर ललितपुरले एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ ।

समितिलाई घटनाबारे यर्थाथ विषय पत्ता लगाएर प्रतिवेदन बुझाउन भनिएको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले घटनाबारे छानबिन सुरु गरिएको र अनुसन्धानका क्रममा दोषी पाईए कारबाही हुने बताउनुभयो ।

माला शाहले अवकाशप्राप्त सहायक रथी खत्री आफ्नो श्रीमान भएको र दुई दशकदेखि सँगै बसेको दाबी गदै आएकी छन् । त्यसैले नाता प्रमाणित गरिदिनु पर्ने माग उनको छ । तर, खत्रीले सशस्त्र द्वन्द्वको समयमा शाह आफ्नो एक जना सूचक मात्र भएको दाबी गरेका छन् । त्यसबाहेक शाहसँग कुनै सम्बन्ध नरहेको दाबी खत्रीको छ ।

यसविषयमा ललितपुर प्रहरीमा समेत उजुरी परेको थियो । कानूनतस् नाता प्रमाणितका लागि अदालत जानुपर्छ ।

यद्यपि, दुई पक्षबीच छलफलबाट कुनै निकास ननिस्किएपछि प्रहरीले घटनामा चासो समेत दिन छाडेको थियो । तर, पीडित महिलालाई न्यायको माग गदै आफूलाई अभियान्ता बताउने श्रेष्ठ सहितको टोली हिजो खत्रीको घर घेराउ गर्न पुगेको थियो ।