काठमाडौं - यसअघि जारी भएका सबै पास रद्द भएपछि राष्ट्र बैंकले भने बैंकका कर्मचारीलाई नयाँ पास उपलब्ध गराउन थालेको छ । जेठ १ गतेदेखि लागू हुने गरी उपत्यकाका तीन जिल्लामा सञ्चालित बैंक तथा वित्तीय संस्था सञ्चालनका लागि राष्ट्र बैंकले छुट्टै नयाँ पास दिन थालेको हो ।

राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बैंकका कर्मचारीका लागि नयाँ पास दिन शुरु गरिएको जानकारी दिए । ‘गृहमन्त्रालयको निर्देशन अनुसार पुरानो पास रद्द भइसकेको अवस्थामा उपत्यकाका तीन वटै जिल्लामा मान्यता हुने गरी लकडाउन अवधिभरीलाई नयाँ पास वितरण शुरु भएको छ,’ उनले भने । अन्य जिल्लामा रहेका बैंकको हकमा स्थानीय प्रशासन तथा राष्ट्र बैंकबाटै पास लिनुपर्नेछ ।

उनका अनुसार उपत्यकामा सञ्चालित बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट पास लिएका छन् । जसमा वाणिज्य बैंकहरुले २० वटाका दरले नयाँ पास लिएका छन् भने विकास बैंकले १० वटा, वित्त कम्पनीले ८ वटा र लघुवित्त कम्पनीले ६ वटाका दरले नयाँ पास उपलब्ध गराइएको ढकालले जानकारी दिए । बैंकिङ सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले लकडाउनको अवधिमा पनि बैंकले सेवा निरन्तर दिइरहेका छन् ।

त्यस्तै, वीमा कम्पनीहरुको हकमा पनि वीमा समितिले नयाँ पास उपलब्ध गराउन शुरु गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार वीमा कम्पनीलाई आवश्यकता अनुसार पास उपलब्ध गराउन थालेको छ । ‘सरकारले एक तिहाइ कर्मचारीबाट काम गराउन निर्देशन दिएको छ, समितिले पनि सोही अनुसार नयाँ पास उपलब्ध गराएका छौं,’ उनले भने ।