काठमाडौं - बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको छ । आत्महत्याको पुष्टि प्रहरीले गरिसके पनि कारण खुलेको छैन ।

उनी ६ महिनादेखि डिप्रेसनमा रहेको भन्दै प्रहरीले डिप्रेसनकै कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।

टेलिसिरियलबाट करिअर सुरुवात गरेका उनको पहिलो सिरियल ‘किस देशमे हे मेरा दिल’मा अभिनय गरेका थिए। उनको विशेष परिचय भने एकता कपुरको धारावाहिक सिरियल ‘पवित्र रिस्ता’बाट मिलेको थियो।

यसपछि उनी ‘काइ पो चे’मार्फत बलिउडमा प्रवेश गरेका थिए। यसमा उनको अभिनयको निकै चर्चा भएको थियो। यसपछि उनी ‘शुद्ध देशी रोमान्स्’, भारतीय क्रिकेट टिमका पूर्वकप्तान एमएस धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनी : द अन टोल्ड स्टोरी’, 'पिके', 'सोन चिडिया और छिछोरी’ जस्ता फिल्ममा काम गरेका थिए।

उनलाई सबैभन्दा चर्चा दिलाउने फिल्म बनेको थियो धोनीको जीवनीमा आधारित फिल्म । यसमा उनको अभिनयको अहिलेसम्म पनि चर्चा गरिँदै आएको छ।  केहीदिन पहिले उनका पूर्व म्यानेजर दिशा सलियनले घरको छतबाट हामफालेर आत्महत्या गरेका थिए।