एजेन्सी - भारत–चीन सीमा विवाद शान्तिपूर्ण रुपमा समस्या समाधान गर्न सहमत भएका छन् । भिडियोमार्फत भएको भारत चीन सीमा मामिला समितिको १५ औं बैठकमा दुई देश सीमा क्षेत्रमा शान्ति कायम गर्न सहमत भएका हुन् ।

दुबै देशले लद्दाखको विवादास्पद क्षेत्रस्थित वास्तविक नियन्त्रण रेखाको कडाइपूर्वक सम्मान र निरीक्षण गर्ने सहमति गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । द्विपक्षीय सम्झौता र प्रोटोकलअनुरूप सीमा क्षेत्रमा शान्ति स्थापना गर्ने सहमति पनि दुई देशविच भएको छ ।

सीमा समस्या समाधानका लागि कूटनीतिक र सैन्य दुवै तहमा वार्ता जारी राख्ने निर्णय पनि भएको छ । वार्तामा चीनले गलवान उपत्यकाबाट भारतीय सैनिक तथा पोस्टहरु हटाउनुपर्ने प्रस्ताव गरेको छ । जुन १५ मा सो स्थानमा दुई देशका सेनाविच भिडन्त भएको थियो । भीडन्तमा बीस भारतीय सैनिकको मृत्यु भएको थियो ।

चीनतर्फ कति सैनिक हताहत भए भन्ने अहिलेसम्म खुलेको छैन । भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ । गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो । चीनले आफ्नो ३८ हजार वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ ।