काठमाडौं - विश्व स्वास्थ्य संगठनले कोरोना महामारी दु्रत गतिमा फैलिएको भन्दै कोरोनाको नाममा राजनीति नगर्न चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अदनोम घेब्रेयससले दुबईमा आयोजना गरिएको शिखर सम्मेलनमा सम्बोधन गर्ने क्रममा विश्वका नेताहरुलाई कोरोनाको नाममा राजनीति नगर्न चेतावनी दिएको हो ।

टेड्रोसले विश्वमा कोरोना संक्रमितको संख्या १० लाख पुग्न तीन महिनाको समय लागेकोमा पछिल्लो समय ८ दिनमा नै १० लाख कोरोना संक्रमितहरु फेला परेको भन्दै कोरोनाले अझै पनि महामारीको रुप लिइरहेको बताए ।

विश्वका स्थानीय अस्पतालहरुमा हुने गरेको राजनीतिका कारण ब्राजिल, इराक, भारत र दक्षिण तथा पश्चिम अमेरिकाका केही राज्यहरुमा संक्रमण फैलिएको बताउँदै उनले कोरोना महामारीसँगै राजनीति हावी भएका कारण संक्रमण फैलिएको आरोप लगाए ।

उनले महामारीको बेला विश्वका नेताहरु एकजुट हुन नसक्नु ठूलो समस्या भएको बताए ।

यता अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वभर ९० लाख कोरोना संक्रमित रहेको र हालसम्म ४ लाख ६८ हजार बढीको मृत्यु भइसकेको छ ।