काठमाडौं - स्टार स्ट्राइकर घाइते भएपनि फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले सहज जीत निकालेको छ ।

शुक्रबार राति भएको खेलमा पीएसजीले मेट्जलाई २–० गोलले हरायो ।पीएसजीको जितमा एन्जल डी मारिया र चोपो मोटिङले एक–एक गोल गरे ।

प्रभावशाली खेलाडी केलियन एमबाप्पे र इडिन्सन काभानी घाइते हँुदा पीएसजी अहिले दबाबमा छ ।टोलीका अर्का स्ट्राइकर नेयमार पनि अहिले फ्रान्स छाड्ने तयारीमा छन् । नेयमार पूर्व क्लब स्पेनिस बार्सिलोना फर्कने हल्ला चलिरहेको छ ।

बार्सिलोना नेयमारलाई भित्र्याउन नजिक पुगेको समाचार बाहिरिएपनि त्यो प्रक्रियाले पूर्णता भने पाइसकेको छैन । तरपनि पीएसजीले लिगमा आफ्नो लय गुमाएको छैन ।

पीएसजीले ११ औँ मिनेटमा खाता खोलेको थियो । एन्जल डी मारियाको पेनाल्टी मार्फत पहिलो गोल गरेका थिए । ४३आंै मिनेटमा मोटिङले हेड गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उनले मार्को भेराट्टीले फ्रिकिकमार्फत् उपलब्ध गराएको पासमा उत्कृष्ट गोल गरेका थिए ।