काठमाडौं - युरो कप छनोट फुटबलमा पोर्चुगलले लिथुनियामाथि शानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले लिथुनियालाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

लिथुनियालाई पराजित गर्ने क्रममा कप्तान क्रिष्टियानो रोनाल्डोले चार गोल गरे । त्यस्तै, विलियन कार्भाल्होले एक गोल गरे । यता, लिथुनियाका लागि भने आन्द्रेयुस केविसियसले गोल फर्काएका थिए ।

खेलको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै घरेलु टोली लिथुनियाविरुद्ध अग्रता बनाए । तर खेलको २८औं मिनेटमा लिथुनियाले गोल गर्दै खेल १–१ गोलको बराबरीमा पुर्‍याएको थियो । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको पोर्चुगलले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो ।

दोस्रो हाफमा आक्रमक खेल खेलेको पोर्चुगलका लागि खेलको ६१औं र ६५औं मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरे ।

त्यस्तै, खेलको ७६औं मिनेटमा अर्को गोल थप्दै रोनाल्डोले पोर्चुगलका लागि ४–१ गोलको अग्रता दिलाएका थिए ।

खेलको अतिरिक्त समयमा कार्भाल्होले गोल गर्दै पोर्चुगललाई ५–१ गोलको जित दिलाए । समुह बीको दोस्रो स्थानमा रहेको पोर्चुगलले ४ खेलबाट ८ अंक जोडेको छ । त्यस्तै एक अंक जोडेको लिथुनिया भने तालिकाको पुछारमा छ ।