काठमाडौं  - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले संसदीय दलको बैठक बोलाएको छ ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक कदमलाई बदर गरेपछि सो पक्षले आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा आगामी प्रतिनिधिसभा बैठकमा खेल्नुपर्ने भूमिका र रणनीतिबारे छलफल हुनेछ । 

 प्रतिनिधिसभा पुनःस्थापनाको खुसीयालीमा प्रचण्ड-नेपाल पक्षले आज देशभर विजय जुलुस पनि गर्दैछ । काठमाडौंमा भने शान्तिवाटिकामा दिउँसो १२ बजे विजय जुलुस आयोजना गरेको छ । उक्त विजय सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ।