काठमाडौं - अर्जेन्टिनी तथा बार्सिलोनाका सुपरस्टार फुटबलर लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन 'डी'ओर अवार्ड जितेका छन् ।

लिभरपुलका भर्जिल भान डाइक तथा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेसीले उपाधि जितेका हुन् ।यसअघि मेसीले पछिल्लो पटक २०१५ मा यो अवार्ड जितेका थिए । सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै छैटौं पटक यो उपाधि जितेर सबैभन्दा धेरै उपाधि जित्ने कीर्तिमान मेसीले बनाएका छन् ।

फ्रान्स फुटबल म्यागजिनले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने अवार्ड मेसीले पहिलो पटक २००९ मा पहिलो पटक जितेका थिए । त्यसपछि २०१०, २०११, २०१२ मा गरी लगातार चार पटक मेसीले यो उपाधि जिते । २०१५ मा मेसीले पाचौं पटक बोलोन डी’ओर जितेका थिए।

मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।खेलाडी, प्रशिक्षक तथा खेल पत्रकारको मतका आधारमा प्रदान गरिने अवार्डमा लिभरपुलका भर्जिल भान डिजेक दोस्रो, र युभेन्टसका क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा रहे।

फ्रान्सको पेरिसमा आयोजित विशेष कार्यक्रममा मेस्सीलाई अवार्ड प्रदान गरिएको थियो ।महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् । लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते ।