काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ ।

बिहिबार लामो समय छलफल गरेका दुई अध्यक्ष शुक्रबार पनि बिहानदेखि छलफलमा जुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिहिबार अध्यक्षद्वयबीच मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक आयोगको नियुक्ति र बाँकी रहेको एकताका विषयमा तत्काल टुंगो लगाउने लगायतका विषयमा छलफल भएको एक नेकपा नेताले बताए । यस विषयमा दुई अध्यक्षले चाँडै निर्णय लिने ती नेताले दावी गरे ।

गत आइतबार बसेको सचिवालय बैठकमा आवश्यकता अनुसार मन्त्री हेरफेर र पुनर्गठनको मापदण्ड बनाउनु पर्ने प्रस्ताव गरिएको थियो । सो प्रस्तावमा सबै नेताले सहमति जनाएपछि त्यसको जिम्मा अध्यक्षद्वयलाई दिइएको थियो ।