काठमाडौं - सरकारले खाद्यान्न, औषधि र स्वास्थ्य उपकरण तथा खाना पकाउने ग्यास ९एलपी ग्यास०का पसल नियमित सञ्चालन गर्न निर्देशन गरेको छ । मन्त्रालयले यसका लागि पसलमा भीड नगर्न र सुरक्षित रही कम्तीमा १ मिटरको दूरी राखी लाइनमा बस्न समेत आग्रह गरेको छ ।

मंगलवारदेखि सुरू भएको देशव्यापी लकडाउनका कारण खाद्यान्न, औषधि र स्वास्थ्य सामग्री, खाना पकाउने ग्यास लगायत अत्यावश्यक वस्तुका पसल बन्द भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्ता पसल नियमित सञ्चालन गर्न निर्देशन दिएको हो । 

मन्त्रालयले औषधि, खाद्यान्न, तरकारी, फलफूल, दूध पानीलगायत दैनिक उपभोग्य सामग्री बोक्ने ढुवानीका सवारी सञ्चालन गर्न समेत निर्देशन दिएको छ ।

पसलमा काम गर्ने सबैलाई अनिवार्य मास्क लगाउन र समयसमयमा स्यानिटाइजर र साबुनपानीले हात धुन पनि सरकारले आग्रह गरेको छ ।

यसका लागि ढुवानीकर्ता एवं विक्रेता कम्पनीले मास्क, स्यानिटाइजर लगायत सुरक्षा सामग्रीको सुविधासहित मजदूरको व्यवस्था गर्नुपर्नेछ । 

 आर्थिक अभियान दैनिकबाट