काठमाडौं - संसदको आजको बैठका पनि रवि लामिछानेको विषयले प्रवेश पाएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धान जारी रहेका बेला भइरहेको प्रदर्शन उपयुक्त नभएको बताएकी छन् । संघीय संसद प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै चौधरीले अनुसन्धान प्रभावित हुने गरी भइरहेको प्रदर्शन रोक्न सबै दलहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिइन् ।

‘को दोषी र को निर्दोष भन्ने सवाल अनुसन्धान चलिरहेका बेला उत्तेजित भएर सडकमा निस्कने, अनुसन्धानलाई प्रभावित बनाउन खोज्ने विषयलाई विल्कुलै सही मान्न सकिन्न,’ टीभी कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्षमा चितवनमा भइरहेको प्रदर्शनतर्फ संकेत गर्दै उनले भनिन्, ‘यस्तो गतिविधि रोक्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्दछ ।’

चौधरीले तथ्यमा टेकेर सत्य पत्ता लगाउँदा निर्दोषले सजाय भोग्न नपर्ने र दोषी उन्मुक्ति नपाउने पनि जिकिर गरिन् । ‘तथ्यमा टेकेर सत्य पत्ता लागोस् । त्यसो गर्दा निर्दोषले सजाय भोग्न नपर्ने हुन्छ र दोषी उन्मुक्ति पाउँदैन,’ उनले भनिन् ।

राज्यका संयन्त्रलाई बाईपास गरेर अगाडि बढ्न खोज्दा देशमा उत्पन्न हुन सक्ने भयावह अवस्थालाई सबैले मनन् गर्नुपर्नेमा चौधरीको जोड थियो । ‘देश विधीले चलाउने हो, कानुनको सर्वोच्चतालाई सबैले आत्मसात गर्ने हो,’ उनले भनिन्, ‘राज्यका संयन्त्रलाई बाईपास गरेर अगाडि बढ्न खोज्दा देशमा उत्पन्न हुन सक्ने भयावह अवस्थालाई सबैले देख्न सक्नु पर्दछ ।’

पत्रकार पुडासैनीको मृत्युभन्दा पहिले रेकर्ड भएको भिडियो र त्यसमा लगाइएको आरोपका आधारमा रवि लामिछानेमाथि प्रहरीले अनुसन्धानमा गरिरहेको भन्दै उनले भनिन्, ‘अनुसन्धानका आफ्ना प्रक्रिया हुन्छन्, जुन क्रम जारी छ । न त रवि लामिछाने दोषी हुन् भन्ने प्रमणित भएको छ, न त निर्दोष हुन् भन्ने प्रमाणित नै भएको छ ।’

को दोषी र को निर्दोष भन्ने सवाल अनुसन्धान चलिरहेका बेला उत्तेजित भएर सडकमा निस्कने, अनुसन्धानलाई प्रभावित बनाउन खोज्ने विषयलाई विल्कुलै सही मान्न सकिन्न । यस्तो गतिविधि रोकन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्दछ । तथ्यमा टेकेर सत्य पत्ता लागोस् । त्यसो गर्दा निर्दोषले सजाय भोग्न नपर्ने हुन् र दोषी उन्मुक्ति पाउँदैन ।