काठमाडौं - कञ्चनपुरको बेलौरी नगरपालिका-७ भगतपुरमा गए राति धारिलो हतियार गरी एक महिलाको विभत्स हत्या भएको छ।

स्थानीय ५५ वर्षीय बेलु खातीको अज्ञात समूहले गएराति धारिलो हतियार प्रहार गरी हत्या गरेको हो।

हतियार प्रहारबाट पत्नीको तत्कालै मृत्यु भएको र उनका पति ६२ वर्षीय धनश्याम गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

‘पत्नीको हत्या भएको छ। गम्भीर घाइते पतिलाई उपचारका लागि धनगढी पठाएका छौँ,’ थापाले भने, ‘खाती परिवारको घरमै मध्यरातमा घटना भएको हो’

हत्याराको पहिचान हुन सकेको छैन। प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ।

‘सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी थापाले भने। घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।