काठमाडौं - प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल समूहको धज्जी उडाउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । युवा संघको काठमाडौंमा आयोजित भेलालाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘प्रचण्ड माधव समूहलाई जहाँ जति सक्यो त्यति धज्जी उडाउनुस् । यिनीहरुलाई आफ्नो हैसियत देखाउनुपर्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसद विघटन गर्नु कुनै गल्ती र नराम्रो काम नभएको स्पष्टीकरण दिए । उनले संसदको निर्वाचन हुँदा देश संकटमा नपर्ने जिकिर गरेका छन् । उनले भने, ‘संसदीय व्यवस्थामा निर्वाचन हुनु सामान्य हो ।’ उनले पार्टीमा आफूलाई काम गर्न नदिए पनि आफूले काम गरेको र सरकार सफल भएको भन्दै आफूले गरेका कामहरु सूचि पेश गरेका थिए ।

उनले भने, ‘देशलाई एउटा गतिमा बढाउनु पर्छ भनेर मैले चुनाव घोषणा गरेको हुँ ।’

कार्यक्रममा बोल्दै उनले जनयुद्धलाई फर्सी कुहिए झैं कुहिएको बताए । उनले प्रचण्ड-नेपालको सडकमै बास हुने संकेत गरे । ‘हामी यहाँ छौँ भनिरहेका छन्,’ उनले भने, ‘त्यही बसिरहनुस् ।’