एजेन्सी - पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोल पुरा गरेका छन् ।

गएराति भएको नेसन्स लिग फुटबल समूह चरणको खेलमा रोनाल्डोको दुई गोलको सहयोगमा पोर्चुगलले स्विडेनलाई २–० गोल अन्तरले हराएसँगै सय गोलको आँकडा पुरा गरेका हुन् ।

खेलमा पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । उनले डिबक्स बाहिरबाट प्रहार गरेको फ्रिकिकले जाली चुमेका थियो । सो गोलसँगै रोनाल्डोले पोर्चुगलबाट जर्सीमा सय गोल पुरा गरेका थिए ।

रोनाल्डोले ७२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे । उनले राष्ट्रिय टिमबाट आफ्नो गोल संख्या १ सय १ पुर्याएका छन् ।

उनी राष्ट्रिय टिमबाट सय गोल पुरा गर्ने पहिलो युरोपेली फुटबलर बनेका छन् । उनी भन्दा धेरै इरानका अली डेईले देशबाट १ सय ९ अन्तराष्ट्रिय गोल गरेका छन् । गत बर्ष नेदरल्याण्ड्सलाई १–० ले हराउँदै पोर्चुगलले उपाधि जितेको थियो ।