काठमाडौं - गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदूत निकोला पोल्लिटबीच  शिष्टाचार भेटवार्ता  भएको छ ।  बुधबार गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग, आपसी हित र सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको बताइएको छ ।

शिष्टाचार भेटका अवसरमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदूत नियुक्त भएकामा  निकोलालाई बधाई  तथा सफल कार्यकालको शुभकामना समेत दिए । निकोलाको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्दे उनले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका समस्या समाधानका लागि भूमिका खेलिदिन आग्रह गरे ।

राजदूत निकोलाले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै इतिहासदेखि नै नेपालले बेलायतलाई गर्दै आएको सहयोग प्रति आफूहरु कृतज्ञ रहेको बताइन् । बेलायतमा बस्ने नेपालीको समस्या तथा ब्रिटिश गोरखाका समस्याबारे आफूहरु गम्भीर रहेको बताएकी उनले अहिले धेरै समस्या समाधान भइसकेको बताईन् ।