काठमाडौं - नेपाली कांग्रेसले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

क्वारेन्टिन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको, कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भइका विरामीहरुले सुविधा पाउन नसकेको, खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा कांग्रेसले ध्यानाकर्षण गराएको हो ।

भेटमा मन्त्री ढकालले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्नेगरि काम अघि बढाएको जानकारी दिएका छन । आगामी अगष्ट ५, ६ सम्म नेपालमा ८० हजार संक्रमित पुग्ने अनुमान गरेर आवश्यक तयारी अघि बढाएको पनि उनले कांग्रेस प्रतिनिधिमण्डललाई गराएका छन ।

संक्रमण नियन्त्रणका लागि स्थानीय तहलाई पर्याप्त बजेट ब्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ । क्वारेन्टिनहरु कोरोना संक्रमण फैल्याउने माध्यम बनिरहेको भन्दै त्यसलाई ब्यवस्थित गर्नुपर्ने कांग्रेसको माग छ ।

प्रत्येक स्थानीय तहमा स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स ब्यवस्था गर्न, स्वास्थ्यकर्मी र प्रयोगशाला प्राविधिक पठाउन, क्वारेन्टिनमा बस्नेलाई स्वस्थकर खाना उपलब्ध गराउन पनि उसले सरकारको ध्यानाकर्षण गराएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरिदमा अनियमिता भएको कुरा बाहिर आएकाले सत्यतथ्य बाहिर ल्याउन र छानविन गर्न पनि कांग्रेसले माग गरेको छ ।