काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव पक्षले २८ गते काठमाडौंमा पुनः वृहत विरोध प्रदर्शन गर्ने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गरेर प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको संघर्ष समितिले यही माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

समितिका संयोजक एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार १३ गते सिटी जुलुस निकालेर आन्दोलनका कार्यक्रम सुरु हुनेछ । त्यसपछि १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिइनेछ । २२ गते काठमाडौंमा युवा र्‍याली गर्ने घोषणा भएको छ भने २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गर्ने भएको छ ।